चितवन । गृहमन्त्री सुधन गुरुङले मगाएको अमलेटमा माछाको काँडा भेटिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिका-१० स्थित लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना तिराएको छ। मङ्गलबार दिउँसो गृहमन्त्री गुरुङले खाजा खाने क्रममा उक्त घटना भएलगत्तै प्रशासनले होटलमा आकस्मिक अनुगमन गरेको थियो।
सहायक प्रमुख जिल्ला अधिकारीसहितको अनुगमन टोलीले होटलको भान्सा निरीक्षण गर्दा गुणस्तरहीन खाने तेलको प्रयोग भएको, तरकारी ताजा नभएको र उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी खानेकुरा तयार पारिएको फेला पारेको छ। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मदन लामा थिङका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ को व्यवस्था विपरीत कार्य गरेकाले सोही ऐनबमोजिम ३ लाख रुपैयाँको हदैसम्मको जरिबाना गरिएको हो।
प्रशासनले होटलबाट बरामद गरिएका अखाद्य तथा गुणस्तरहीन सामग्रीहरू तत्काल नष्ट गरेको छ। यतिबेला भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन चलिरहेको र विशिष्ट व्यक्तिहरूको चहलपहल बढेकाले होटल तथा रेस्टुरेन्टहरूको गुणस्तरमा प्रशासनले विशेष निगरानी र कडाइ गरिरहेको छ।




