चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री (खुलातर्फ) पदमा हरि ढकाल र असिम शाह निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि भएको निर्वाचनमा उनीहरू विजयी भएका हुन्।
निर्वाचित ढकाल चितवन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् भने शाह प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हुन्। खुलातर्फका दुई सहमहामन्त्री पदका लागि ११ जना उम्मेदवारबिच कडा प्रतिस्पर्धा भएको थियो। ढकाल र शाहसँगै उक्त पदका लागि रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बू, पुकार बम, राजीव खत्री, विजय जैरु र हिमेश पन्त चुनावी मैदानमा थिए।
अन्य चर्चित प्रतिस्पर्धीहरूलाई पछि पार्दै ढकाल र शाहले रास्वपाको महत्त्वपूर्ण मानिने सहमहामन्त्रीको जिम्मेवारी पाएका हुन्। यसअघि रास्वपाको सभापतिमा रवि लामिछाने, महिला उपसभापतिमा सोविता गौतम र महामन्त्रीमा विपिन आचार्य निर्वाचित भइसकेका छन् भने अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको मत परिणाम पनि सार्वजनिक हुने क्रम जारी छ।





