काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशभर अधिकांश बदली रहनेछ। मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश पहाडी, हिमाली र तराईका भू-भागहरूमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा मध्यम वर्षा र हिमपात हुनेछ। कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा र देशका तराई भू-भागका केही स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यसैगरी दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
रातिको समयमा देशभर अधिकांश बादल लाग्नेछ भने देशका पहाडी र तराई भू-भागका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुनेछ। विशेष गरी राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। यसका साथै मधेश प्रदेश तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा समेत भारी वर्षा हुन सक्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेकाले बाढी र पहिरोको जोखिमबाट बच्न विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।





