काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशभर साधारणतया बदली रहनेछ। मनसुनी प्रणालीको प्रभावका कारण देशका हिमाली, पहाडी तथा तराईका विभिन्न भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
आज दिउँसो देशको हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ। यसै गरी लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थान, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थान तथा मधेश र कोशी प्रदेशका तराईका एक-दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्नेछ। दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
रातिको समयमा पनि देशभर साधारणतया बादल लागिरहनेछ। देशको हिमाली भू-भागका केही स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ भने लुम्बिनी र सुदूरपश्चिमको तराईका साथै देशका पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षा हुनेछ। यस्तै बागमती र गण्डकीको तराईका थोरै स्थान तथा कोशी र मधेश प्रदेशका तराईका एक-दुई स्थानमा पनि चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। राति गण्डकी प्रदेशको पहाडी भू-भागका साथै सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।





