काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारको सय दिने कार्यकाल पूर्ण रूपमा असफल भएको दाबी गरेका छन्।
शनिबार लुम्बिनी प्रदेशस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रमका सिलसिलामा बुटवल पुगेका प्रचण्डले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सरकारको आलोचना गरेका हुन्।
सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा उनले वर्तमान सरकार गठन हुनुपूर्व जनतामाझ बाँडिएका आश्वासन र छरिएका भ्रमको तुलनामा सय दिनको कामकारबाही निराशाजनक रहेको बताए।
जनताले राखेका अपेक्षाअनुसार सरकारले कुनै पनि ठोस उपलब्धि हासिल गर्न नसकेको भन्दै उनले सरकार पूर्णत: असफल भएको टिप्पणी गरे।
प्रचण्डले अहिलेको राष्ट्रिय आवश्यकता वाम एकता मात्र नभएर बृहत् राजनीतिक सहकार्य भएकोमा जोड दिए। देशको वर्तमान अवस्थालाई सम्बोधन गर्न वामपन्थी शक्तिहरूका साथै नेपाली कांग्रेस र नेकपा एमालेलगायतका सबै दलहरूबीच सहकार्य जरुरी रहेको र त्यसका लागि आफ्नो तर्फबाट निरन्तर प्रयास भइरहेको उनले स्पष्ट पारे।




