काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा बिहीबार पनि देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान अनुसार बिहीबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ। यसका साथै देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको समेत सम्भावना रहेको छ।
तराईका क्षेत्रहरूमा पनि मौसम सक्रिय रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानहरूका साथै मधेस र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। बिहीबार रातिको समयमा पनि देशभरको मौसम साधारणतया बदली नै रहनेछ। राति विशेषगरी बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ।
रातिको समयमा देशका हिमाली भू-भागका थोरै स्थानमा र पहाडी तथा तराई भू-भागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लगातारको वर्षाका कारण नदी तटीय क्षेत्रमा पानीको बहाव बढ्न सक्ने, तराईका होचा स्थानमा डुबान हुने र पहाडी भू-भागमा पहिरोको उच्च जोखिम रहने भएकाले सडक तथा हवाई यात्रा गर्दा र दैनिक कामकाजमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।




