काठमाडौँ । मुलुकभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (मङ्गलबार) देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने मधेश, कोशी र बागमती प्रदेशका तराई भू-भागमा आंशिक बदली रहनेछ।
आज दिउँसो देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका धेरै स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षा हुनेछ। यस्तै लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा अन्य प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा समेत मध्यम वर्षाको पूर्वानुमान गरिएको छ। विशेष गरी कर्णाली प्रदेशको पहाडी भू-भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
त्यसैगरी आज राति देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बदली रहनेछ। रातिको समयमा देशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ भने तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा हुने जनाइएको छ। भारी वर्षाका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा डुबानको जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्र तथा भिरालो जमिन आसपासका बासिन्दालाई सतर्क रहन अपिल गरिएको छ।




