काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाहीमा कुनै किसिमको राजनीतिक हस्तक्षेप नहुने स्पष्ट पारेका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा अख्तियारका पदाधिकारीहरूसँग भएको छलफलमा सभापति लामिछानेले कुनै पूर्वाग्रह नराखी निष्पक्ष काम गरेर इतिहास रच्न आयोगलाई सुझाव दिए।
भ्रष्टाचारसम्बन्धी अनुसन्धान र अभियोजनलाई थप व्यवस्थित र वस्तुनिष्ठ बनाउन आग्रह गर्दै उनले भने, “कुनै पनि राष्ट्रसेवक वा जनप्रतिनिधिलाई अदालतको ढोकामा टेकाउनेबित्तिकै उसको पद निलम्बन हुन्छ। मुख्यसचिवसम्मको पद निलम्बन भएर पछि सफाइ पाएको उदाहरण छ। यसबाट व्यक्तिको पारिवारिक र सामाजिक प्रतिष्ठामा पुगेको क्षतिको परिपूरण कसरी हुन्छ? त्यसैले अनुसन्धान र अभियोजनमा निकै मेहनत गर्नुपर्छ।”




