काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लामा गत साउन महिनामा मात्रै ७४ वटा आपराधिक घटना दर्ता भएका छन्। यस अवधिमा विभिन्न घटनामा संलग्न रहेका ७६ जना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयद्वारा सार्वजनिक मासिक प्रगति विवरणअनुसार एक महिनामा दर्ता भएका ७४ घटनामध्ये ४१ वटा मुद्दाको फछ्र्योट भइसकेको छ भने बाँकी मुद्दाहरू अनुसन्धानकै चरणमा रहेका छन्। प्रहरीका अनुसार पछिल्लो समय जिल्लामा आर्थिक तथा बैंकिङ कसुरसम्बन्धी अपराधको संख्या बढ्दो क्रममा देखिएको छ।
कार्यालयमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी १८ वटा बैंकिङ कारोबारसँग सम्बन्धित छन् भने चोरीका १२ मुद्दा दर्ता भएका छन्। यसबाहेक सवारी ज्यान, ज्यान मार्ने उद्योग, बहुविवाह र जबर्जस्ती करणीजस्ता गम्भीर प्रकृतिका मुद्दाहरू दर्ता भएका छन्। प्रहरीले विभिन्न मितिमा फरार रहेका २० अभियुक्तलाई समेत पक्राउ गरी कारबाही अघि बढाएको छ।
यसैगरी सडक सुरक्षा तथा ट्राफिक नियम उल्लंघन गर्ने ६५९ सवारीसाधनलाई कारबाही गरी ६ लाखभन्दा बढी राजस्व संकलन गरिएको छ भने अवैध उत्खननमा संलग्न सवारीसाधनबाट ३ लाख १७ हजार राजस्व दाखिला गराइएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार नागरिकको जीउधनको सुरक्षाका लागि नियमित गस्ती, आकस्मिक जाँच र प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाइएको छ।





