काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले आफ्नो पार्टी संघीयताप्रति पूर्ण प्रतिबद्ध रहेको भन्दै यसलाई दृढताका साथ पालना गरेर जाने बताएका छन्।
राजधानीमा आयोजित ‘संघीयता: संविधान संशोधन र कार्यविस्तृतीकरण’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बुर्लाकोटीले संविधान, लोकतन्त्र र संघीयताप्रति रास्वपाको कुनै सम्झौता नरहेको स्पष्ट पारेका हुन्।
उनले संविधान संशोधन समयको आवश्यकताअनुसार हुन सक्ने बताउँदै लोकतान्त्रिक अभ्यासलाई थप जनमुखी र कल्याणकारी बनाउनुपर्नेमा जोड दिए। विगतका आन्दोलनहरूबाट प्राप्त उपलब्धिहरूलाई जोगाउँदै समयक्रमसँगै देखिएका कमीकमजोरीहरूलाई राष्ट्रिय सहमति जुटाएर संविधान संशोधनमार्फत सम्बोधन गर्न सकिने उनको भनाइ छ।
संघीयताको प्रभावकारी कार्यान्वयनका लागि तीन तहका सरकारबीच कार्यविस्तृतीकरण स्पष्ट हुनुपर्ने उल्लेख गर्दै बुर्लाकोटीले स्थानीय तह बलियो, प्रदेश तह सुझबुझपूर्ण र संघीय तह रणनीतिक निर्णय लिन सक्ने हुनुपर्ने बताएका छन्।




