काठमाडौँ । मुलुकभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (शनिबार) देशभरको मौसम साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका हिमाली, पहाडी तथा तराई भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने तथा केही प्रदेशहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थान तथा मधेश र कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग, कर्णाली प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। रातिको समयमा कोशी, बागमती र गण्डकीका हिमाली भेगका धेरै, लुम्बिनीका केही तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हिमपात र वर्षा हुनेछ। यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका धेरै स्थान, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थान तथा तराईका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुनेछ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा भारी वर्षा तथा कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।





