काठमाडौँ । बाढीबाट अत्यधिक प्रभावित भएका रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँ जिल्लाका विभिन्न स्थानीय तहहरूलाई सरकारले तीन महिनाका लागि ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको छ। गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१) बमोजिम उक्त घोषणा गरेको हो। नेपाल–चीन सीमास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण तल्लो तटीय क्षेत्रका बस्ती तथा संरचनाहरूमा व्यापक क्षति पुगेपछि सरकारले यस्तो निर्णय लिएको हो।
राजपत्रमा प्रकाशित सूचनाअनुसार रसुवा जिल्लाका उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङमो गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ। त्यस्तै नुवाकोट जिल्लाका विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिका, धादिङका गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका तथा तनहुँका देवघाट र आँबुखैरेनी गाउँपालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र तोकिएको छ।
सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेपछि ती स्थानीय तहहरूमा खोज, उद्धार, राहत वितरण, पुनर्स्थापना तथा पूर्वाधार पुनर्निर्माणका कामहरूलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउन कानुनी एवं प्रशासनिक रूपमा सहज हुनेछ।





