काठमाडौँ । सीमापार भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले पुर्याएको क्षतिलाई लिएर परराष्ट्रमन्त्री शिशिर खनाल र चीनका विदेशमन्त्री वाङ यीबिच शनिबार टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा दुवै देशका विदेशमन्त्रीहरूले बाढीका कारण नेपाल र चीन दुवैतर्फ भएको अपूरणीय मानवीय क्षति तथा ठुलो भौतिक विनाशप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
वार्ताका क्रममा दुवै पक्षले विपद्पछिको आपत्कालीन प्रतिकार्यलाई थप प्रभावकारी बनाउने, खोज, उद्धार तथा राहत कार्यलाई सुदृढ गर्ने र वास्तविक समय (रियल टाइम) को जलविज्ञानसम्बन्धी तथ्याङ्क आदानप्रदानलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। यस कठिन परिस्थितिमा नेपालतर्फ जारी उद्धार तथा राहत प्रयासमा चीन सरकारले पुर्याएको महत्त्वपूर्ण सहयोगका लागि परराष्ट्रमन्त्री खनालले हार्दिक धन्यवाद व्यक्त गरेका छन्।
यसैबिच, नेपालका बाढी प्रभावित क्षेत्रमा सहयोग पुर्याउन चिनियाँ उद्धार टोली शनिबार दिउँसो नै नेपाल आइपुगेर प्रत्यक्ष रूपमा उद्धार कार्यमा खटिसकेको जनाइएको छ। दुवै मुलुकबिच विपद् व्यवस्थापन, पूर्वसूचना प्रणाली र प्रतिकार्यमा निरन्तर समन्वय र सहकार्य जारी रहने बताइएको छ।





