काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी, उद्धार तथा राहत व्यवस्थापनका क्रममा सरकारमाथि उठेका विभिन्न प्रश्नहरूको प्रतिनिधि सभाको बैठकमा स्पष्टीकरण दिएका छन्।
बुधबार संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीको पूर्वसूचना नदिएको, अन्तर्राष्ट्रिय सहयोग नलिएको, शव व्यवस्थापन र सुरुङमा फसेकाहरूको उद्धारका विषयमा विपक्षी सांसदहरूले उठाएका आरोपको खण्डन गरे। विपद्को पूर्वसूचना पाउनेबित्तिकै ११ लाख नागरिकलाई एसएमएसमार्फत सतर्क गराइएको र पहिलो दिनदेखि नै अन्तर्राष्ट्रिय सहयोग लिइएको उनले जानकारी दिए।
यस्तै, पहिचान हुन नसकेका शवहरूको डीएनए परीक्षणसहित वैज्ञानिक र कानुनी विधि अपनाएर गाडिएको तथा पछि आफन्तसँग डीएनए म्याच गराएर हस्तान्तरण गर्न सकिने प्रधानमन्त्री शाहले स्पष्ट पारे। हाइड्रो सुरुङमा थुनिएका नागरिकको उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र र प्राविधिक ज्ञान परिचालन गरिएको उनले बताए।





