काठमाडौँ । भोटेकोशी बाढीपहिरोबाट प्रभावित हिमाली तथा पहाडी क्षेत्रहरूमा पानीजन्य तथा मौसमी सङ्क्रामक रोगका बिरामीहरूको सङ्ख्या बढ्दै गएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जारी गरेको पछिल्लो २४ घण्टाको सङ्क्रामक रोग निगरानी प्रतिवेदन अनुसार प्रभावित क्षेत्रहरूमा थप ५२ जना नयाँ बिरामी दर्ता भएका छन्।
महाशाखाको अद्यावधिक तथ्याङ्क अनुसार नयाँ भेटिएका बिरामीमध्ये अधिकांशमा ज्वरोको समस्या देखिएको छ, जसको सङ्ख्या ४९ रहेको छ। यसबाहेक दुई जनामा कडा झाडापखाला र एक जनामा शरीरमा डाबर वा दागसहितको ज्वरो देखिएको छ। जिल्लागत विवरण अनुसार रसुवामा सबैभन्दा बढी २२ जना नयाँ बिरामी थपिएका छन् भने नुवाकोटमा १२ र धादिङमा दुई जना नयाँ बिरामी भेटिएका हुन्। बाढीपछिको समग्र अवस्था हेर्दा हालसम्म रसुवामा मात्रै कुल ३१९, नुवाकोटमा २७२ र धादिङमा ७२ जना नागरिक सङ्क्रामक रोगबाट प्रभावित भइसकेका छन्।
प्रभावित जिल्लाहरूमा सम्भावित महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य निकायहरूले उच्च सतर्कताका साथ रोग निगरानी तथा उपचार सेवा तीव्र बनाएका छन्। विभिन्न होल्डिङ सेन्टरहरूमा खटिएका स्वास्थ्यकर्मीमार्फत बिरामीको नियमित परीक्षण र औषधि वितरण भइरहेको छ भने जनस्वास्थ्य कार्यालय र स्थानीय तहबिच समन्वय गरी आपत्कालीन स्वास्थ्य प्रतिकार्यलाई प्रभावकारी बनाइएको महाशाखाले जनाएको छ।





