काठमाडौँ । काठमाडौँको नरेफाँटबाट प्रहरीले नियन्त्रणमा लिएको १८३ थान खाना पकाउने एलपी ग्यास सिलिन्डर निर्धारित सरकारी मूल्यमै उपभोक्तालाई वितरण गर्ने सर्तमा फिर्ता गरिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार साँझ नरेफाँटस्थित रामेछाप ब्राण्ड ग्यास डिलरबाट बढी मूल्य असुल गरेको सूचनाका आधारमा ती सिलिन्डरहरू बरामद गरेको थियो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार डिलरलाई सचेत गराउँदै सूचीकृत उपभोक्तालाई मात्र तोकिएको मूल्यमा ग्यास उपलब्ध गराउने कबुलियतपछि सिलिन्डर फिर्ता गरिएको हो। सरकारले खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर २ हजार १६५ रुपैयाँ तोकेको भए पनि उक्त डिलरले ढुवानी खर्चको बहाना बनाएर प्रति सिलिन्डर २५ सय रुपैयाँसम्म असुल्ने गरेको उपभोक्ताहरूको गुनासो थियो। डिलर सञ्चालक नारायण श्रेष्ठले प्रहरीको निगरानीमा उपभोक्तालाई ग्यास वितरण सुरु गरेका छन्।
यसैबिच, प्रहरीले काठमाडौँको सामाखुसी क्षेत्रबाट पनि १८९ थान ग्यास सिलिन्डर बरामद गरेको छ। बसुन्धरास्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थामार्फत ग्यासको अवैध कारोबार गर्दै प्रति सिलिन्डर २ हजार ६०० रुपैयाँमा कालोबजारी गरिरहेको अवस्थामा प्रदीप घिमिरेलाई नियन्त्रणमा लिइएको छ। उपत्यकामा कृत्रिम अभाव र कालोबजारी गर्नेविरुद्ध कडा कारबाही अभियान जारी रहने प्रहरीले स्पष्ट पारेको छ।





