काठमाडौँ । हिन्दू धर्मावलम्बी नारीहरूले देवादिदेव महादेवको विधिपूर्वक पूजा–आराधना गरी आज (सोमबार) धुमधामका साथ हरितालिका तीज पर्व मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विवाहित महिलाहरू पतिको दीर्घायु, सुस्वास्थ्य तथा पारिवारिक सुख–शान्तिको कामना गर्दै र अविवाहित युवतीहरू सुयोग्य वर प्राप्तिको अभिलाषासहित व्रत बस्ने गर्दछन्।
पौराणिक मान्यताअनुसार सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बालुवाको शिवलिङ्ग बनाई कठोर तपस्या गरेपछि महादेवलाई पतिका रूपमा पाउने वरदान पाएकी थिइन्। पिता हिमालयले उनको इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीहरू (सखी) ले पार्वतीलाई हरण गरेर कसैले नदेख्ने गुप्त स्थानमा लुकाएका थिए। संस्कृत भाषामा ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ सखी हुने भएकाले साथीहरूद्वारा हरण गरिएकै गुप्त स्थानमा बसेर पार्वतीले निराहार व्रत गरी शिवजीलाई पतिका रूपमा प्राप्त गरेको दिनलाई ‘हरितालिका तीज’ भनिएको धर्मशास्त्रीय मत छ।
धर्मशास्त्रविद्हरूका अनुसार चतुर्थीसहितको तृतीया तिथि यस व्रतका लागि उत्तम फलदायक मानिन्छ भने द्वितीया तिथिसँग योग भएको दिन हरितालिका व्रत गर्नु हुँदैन। शास्त्रमा ‘सर्वतः आत्मानं गोपायेत्’ अर्थात् जुनसुकै परिस्थितिमा पनि आफ्नो शरीर र स्वास्थ्यको रक्षा गर्नुपर्ने उल्लेख भएकाले आफ्नो शारीरिक अवस्थालाई ध्यानमा राखी निराहार, जलाहार वा फलाहारमध्ये उपयुक्त विधिबाट व्रत बस्न सकिने बताइएको छ। स्वास्थ्यका कारण निराहार बस्न नसक्नेहरूले जल, दूध तथा फलफूल सेवन गर्न सक्ने र स्कन्द पुराणअनुसार अत्यावश्यक औषधि सेवन गर्दा व्रत भङ्ग नहुने शास्त्रीय मान्यता छ।





