असोज १४ देखि इटहरीबाट ‘सीप तथा रोजगार मेला’ सुरु गर्दै श्रम मन्त्रालय, सातै प्रदेशमा विस्तार गरिने

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयले आन्तरिक रोजगार प्रवर्द्धन दशकका रूपमा राष्ट्रव्यापी ‘सीप तथा रोजगार मेला’ आयोजना गर्ने भएको छ। मन्त्रालयले हालै जारी गरेको ‘सीप तथा रोजगार मेला सञ्चालन निर्देशिका, २०८३’ बमोजिम बिहीबार श्रममन्त्री रामजी यादवको संयोजकत्वमा बसेको निर्देशन तथा समन्वय समितिको बैठकले आगामी असोज १४ देखि २० गतेसम्म कोशी प्रदेशको इटहरीमा पहिलो चरणको मेला आयोजना गर्ने निर्णय गरेको हो।

मन्त्रालयका अनुसार इटहरीबाट सुरु हुने यस मेलालाई क्रमशः अन्य प्रदेशहरूमा पनि सञ्चालन गरी राष्ट्रिय अभियानका रूपमा अघि बढाइनेछ। मेला सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकार, निजी तथा गैरसरकारी क्षेत्र, विकास साझेदार संस्था, रोजगारदाता सङ्घ-महासङ्घ, उद्योगी-व्यवसायी एवं शैक्षिक तथा तालिम प्रदायक संस्थाहरूको संयुक्त समन्वय र सहकार्यमा सञ्चालन हुनेछ। सीप, रोजगारी, उद्यमशीलता र स्वरोजगार प्रवर्द्धन गर्दै श्रमको सम्मान र स्वदेशमै रोजगारीका अवसर वृद्धि गर्न मन्त्रालयले सबै सरोकारवालाहरूलाई सहभागिताका लागि आह्वानसमेत गरेको छ।

बैठकपछि मन्त्री रामजी यादवले नेपालको श्रम बजारलाई थप आकर्षक र मर्यादित बनाउनुपर्नेमा जोड दिए। स्वदेशमै काम गर्न तथा उद्यमी बन्न सकिन्छ भन्ने अनुभूतिसहित सकारात्मक सन्देश दिन सरकार र निजी क्षेत्रबिच दरिलो सहकार्य हुनुपर्ने उनको भनाइ थियो। मन्त्री यादवले आन्तरिक रोजगारी दशकलाई सफल बनाउन सीप र रोजगारीको एक बलियो प्रणाली (इकोसिस्टम) निर्माण गर्नुपर्ने औंल्याउँदै यो मेला त्यसका लागि कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा