न्युयोर्क । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले विश्वव्यापी जलवायु सङ्कटका कारण हिमाली क्षेत्र र नेपालजस्ता संवेदनशील मुलुकले असमान क्षति भोगिरहेको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई तत्काल जवाफदेही बन्न आग्रह गरेका छन्। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सत्रलाई न्युयोर्कमा सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको असरबाट जोगिन नेपाललाई प्राप्त हुने अन्तर्राष्ट्रिय सहयोग परोपकार वा दया नभई न्याय र अधिकार भएको प्रस्ट पारे।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालको कार्बन उत्सर्जन नगन्य रहे पनि हिमनदी पग्लिने, हिमताल विष्फोटको खतरा बढ्ने र बाढीपहिरोजस्ता चरम मौसमी विपद्का कारण लाखौँ नागरिक विस्थापित हुनुपरेको यथार्थ विश्व मञ्चमा राखे। पछिल्ला विनाशकारी विपद्हरू केवल नेपालको समस्या नभई सिङ्गो विश्वका लागि ‘हिमालयको चेतावनी’ भएको बताउँदै उनले ‘हानि तथा नोक्सानी कोष’ (Loss and Damage Fund) सहितका जलवायु वित्त संयन्त्रलाई ढिलाइ नगरी तत्काल कार्यान्वयनमा ल्याउन दबाब दिए।
प्रधानमन्त्री शाहले विश्व शान्ति, सहअस्तित्व र दिगो विकासका साझा लक्ष्य हासिल गर्न ठूला र धनी राष्ट्रहरूले आफ्नो ऐतिहासिक दायित्व पूरा गर्नुपर्नेमा जोड दिए। सम्बोधनको अन्त्यमा उनले शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको सन्देश र पशुपतिनाथको आशिर्वादले विश्वभर शान्ति र स्थिरता कायम रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।





