केही विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको मंगलबार बसेको बैठक विभिन्न महत्त्वपूर्ण विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्दै बुधबारसम्मका लागि स्थगित भएको छ। सदनमा पेस भएका विधेयकहरूमाथि सैद्धान्तिक छलफल सम्पन्न भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गर्नुभएको हो।

मंगलबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ पेस गर्नुभएको थियो। उक्त विधेयकमाथि सदनमा सैद्धान्तिक छलफल सम्पन्न भई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। त्यसैगरी, सरकारले विभिन्न कानुनहरूलाई पुनः सक्रिय र व्यवस्थित बनाउने उद्देश्यले ल्याएको ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पारित भएको छ।

बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ पेस गर्नुभएको थियो भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ सदनसमक्ष पेस गर्नुभयो। संसद् सचिवालयका अनुसार बुधबार बस्ने बैठकमा यी विधेयकहरूमाथिको दफावार छलफल र आगामी संसदीय कार्यसूची अगाडि बढाइनेछ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा