काठमाडौँ । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयनपत्र दर्ता सोमबार हुने भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले जारी गरेको प्रेस विज्ञप्तिअनुसार असोज १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौँस्थित राष्ट्रिय सभा गृहमा मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ। समितिका सदस्य–सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा तोकिएको समयसीमाभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिहरूले आफ्नो मनोनयन दर्ता गर्न सक्ने उल्लेख गरिएको छ।
मनोनयन दर्ताको मिति तय भएसँगै कांग्रेसको १५औँ महाधिवेशनमा सभापति, पदाधिकारी तथा विभिन्न केन्द्रीय पदका आकांक्षीहरूको उम्मेदवारी प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। यसले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई थप रोचक बनाएको छ भने विभिन्न पदका आकांक्षीहरूले आ-आफ्नो उम्मेदवारी घोषणा तथा दाबी प्रस्तुत गर्ने क्रमलाई समेत तीब्र बनाएका छन्। निर्वाचन समितिले सबै योग्य प्रतिनिधिहरूलाई निर्धारित समयमै प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।





