काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति गगन थापाले सांगठनिक प्रतिवेदनमार्फत पार्टीको समग्र दिशा तय गर्न पेस गरेको तीनबुँदे प्रस्तावको मुख्य विषय स्पष्ट समेटिनुपर्छ।
थापाले अघि सारेको तीनबुँदे प्रस्तावमा पार्टी सञ्चालन पद्धति, सदस्यता प्रणालीमा सुधार, संगठनको चुस्त व्यवस्थापन, निर्वाचन प्रणाली तथा आगामी कार्यदिशालाई प्राथमिकताका साथ उठाइएको छ। पहिलो बुँदामा राजनीतिलाई गठबन्धन व्यवस्थापन र पद बाँडफाँटमा सीमित गर्न नहुने कुरामा जोड दिइएको छ भने दोस्रो बुँदामा २०६२/६३ देखि २०८२ सम्मका दुई दशकका उपलब्धि र कमजोरीको गहिरो मूल्याङ्कन गर्दै निर्वाचनमा पराजयको वास्तविक अर्थ बुझ्न पर्ने उल्लेख छ। त्यस्तै, तेस्रो बुँदामा लोकतन्त्रको विकल्प कम लोकतन्त्र नभई अझ गहिरो र परिणाम दिने लोकतन्त्र हुनुपर्ने विषयलाई विस्तृत रूपमा समेटिएको छ।
यो प्रस्तावले पार्टीभित्रको गुटबन्दी अन्त्य गरी कांग्रेसलाई पूर्ण रूपमा रूपान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। आगामी निर्वाचनको तयारीलाई बलियो बनाउँदै जनताको भरोसायोग्य र जिम्मेवार राजनीतिक शक्तिको रूपमा कांग्रेसलाई स्थापित गर्न यो प्रस्तावको दूरगामी प्रभाव पर्नेछ। नागरिकको अधिकार र संस्थागत स्वतन्त्रतालाई सर्वोपरि राख्दै पार्टीलाई नयाँ दिशा दिन यो दस्तावेज कोसेढुङ्गा साबित हुनेछ।





