काठमाडौँ । बडा दसैँको सातौँ दिन आज देशभरका दसैँघर तथा पूजाकोठाहरूमा शास्त्रीय विधिपूर्वक फूलपाती भित्र्याइएको छ । केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका पवित्र पातलाई एकत्र गरी पूजाअर्चना गर्दै भित्र्याइएको हो ।
गोरखा दरबारबाट धादिङको जीवनपुर हुँदै काठमाडौँ ल्याइएको फूलपातीलाई बाजागाजा र लावालस्करसहित हनुमानढोका दरबारस्थित दसैँघरमा भित्र्याइएको छ । सोही अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाद्वारा तोप पड्काएर विशेष बढाइँ तथा सलामी अर्पण गरिएको छ ।
फूलपाती भित्र्याएसँगै दसैँको मुख्य रौनक सुरु भएको छ । उपत्यकाबाट थातथलो फर्कने यात्रुको चाप बढेको छ भने गाउँघरमा पिङ र पारिवारिक जमघटले उमङ्ग थपेको छ ।





