बैंक खातामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्था बदर, सर्वोच्चका पाँच आधार

काठमाडौं । बैंक खाता खोल्दा, केवाईसी अद्यावधिक गर्दा र मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य सर्त बनाउने नेपाल राष्ट्र बैंकको व्यवस्थालाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले उक्त बाध्यकारी प्रावधान खारेज गर्दै नागरिकता लगायत वैकल्पिक परिचयपत्रका आधारमा बैंकिङ सेवा निरन्तर दिन परमादेश जारी गरेको हो ।

अधिवक्ता सरिता अधिकारीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले राष्ट्र बैंकको एकीकृत निर्देशनको उक्त व्यवस्था ऐनको सीमाभन्दा बाहिर गएको ठहर गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ ले परिचयपत्रलाई सेवा सुविधाका लागि नागरिक पहिचानको मुख्य आधार भनेको भए पनि एकमात्र आधार भनेको छैन भन्ने अदालतको व्याख्या छ । मातहतको निकायले निर्देशनबाट त्यसलाई एकमात्र आधारमा बदल्न नमिल्ने फैसलामा उल्लेख छ ।

फैसलामा नागरिकताको प्रमाणपत्र नै संवैधानिक पहिचानको मूल आधार भएको स्पष्ट गरिएको छ । संविधानको धारा १० र ११ ले नागरिकताको प्रमाणपत्रलाई राष्ट्रियता र नागरिकतासम्बन्धी हकको आधिकारिक पहिचान मानेकाले परिचयपत्रलाई नागरिकताको विकल्पका रूपमा बुझ्न नमिल्ने अदालतले बताएको छ । परिचयपत्र सेवा प्रवाह सहज बनाउने बहुउपयोगी डिजिटल औजार मात्र भएको र त्यसैका कारण नागरिकलाई आधारभूत सेवाबाट वञ्चित गर्नु असंवैधानिक हुने ठहर छ ।

खातामा रहेको रकम नागरिकको निजी सम्पत्ति भएकाले परिचयपत्रकै कारण रकम चलाउन, केवाईसी गर्न वा मोबाइल नम्बर फेर्न रोक लगाउनु सम्पत्तिको हक (धारा २५) र पेसा व्यवसायको स्वतन्त्रता (धारा १७) विरुद्ध हुने अदालतको निष्कर्ष छ । राज्यले नीति लागू गर्दा नागरिकलाई न्यूनतम सास्ती हुनुपर्ने समानुपातिकताको सिद्धान्त अघि सार्दै इजलासले भौतिक पहिचान (नागरिकता, राहदानी) र डिजिटल प्रमाणीकरण (परिचयपत्र) दुवै विकल्प खुला राखेर सेवा दिन आदेश दिएको छ ।

परिचयपत्रमा रहने औँठाछाप र आँखाको नानी जस्ता जैविक विवरण एक पटक दुरुपयोग भए जीवनभर नसच्यिने भएकाले गोपनीयताको हक (धारा २८) को दृष्टिले बलियो कानुनी सुरक्षा चाहिने अदालतले औंल्याएको छ । निजी बैंकलाई संवेदनशील बायोमेट्रिक विवरणमा पहुँच दिँदा जोखिम बढ्ने भन्दै इजलासले स्वतन्त्र नियामक, अडिट र क्षतिपूर्तिसहितको छुट्टै डाटा संरक्षण ऐन यथाशीघ्र बनाउन सरकारका नाममा निर्देशनात्मक आदेशसमेत जारी गरेको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा