काठमाडौं । हुम्लामा जडीबुटी सङ्कलन गर्न गएका एक युवाको भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सिमिकोट गाउँपालिका-२, ठेहे निवासी अन्दाजी ३२ वर्षीय रूपसिंह बोहोरा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक जङ्गबहादुर सिंहका अनुसार बोहोरा असोज २३ गते जडीबुटी सङ्कलन गर्न भन्दै घरबाट निस्किएका थिए । आइतबार ठेहे खोला नजिकको जङ्गलको भीरबाट लडेर उनको मृत्यु भएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।
घटनास्थलतर्फ प्रहरी टोली गएको र शव पोस्टमार्टमका लागि सिमिकोटस्थित जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको निरीक्षक सिंहले बताए । घटनाबारे थप विवरण आउन बाँकी छ ।





