जेठ १०। ।
सुन्दै छु…
सुन्दै छु —
तिम्रो थर फेरिँदैछ रे,
नामसँगै यादहरू पनि मेटिँदैछ रे।
भोलिका सपनाहरू
अब अरूकै आँखामा सजिँदैछन् रे।
सुन्दै छु —
मसँगको सारा सम्बन्ध फेरिँदैछ रे,
जुन वाचा थियो चन्द्रसूर्यजत्तिकै अटल,
त्यो अब समयसँगै बिस्मृत हुँदैछ रे।
नयाँ घर —
नयाँ संसार बस्दैछौ रे,
जहाँ म छैन,
न त तिमीले खिचेका ती भविष्यका रंगहरू।
तर अझै पनि,
तिमी हाँस्दा झैं लाग्छ यो मन रोइरहेको छ,
तिमी टाढिँदा झैं लाग्छ आत्मा हराउँदैछ।
म त यही छु —
अल्झिएर तिम्रो यादको आकाशमा,
जहाँ तिमी थियौ, जहाँ म अझै छु,
र जहाँ हरेक कुना–कुना तिमीले भरिएको छ।





