काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले दिनहुँ नयाँ उचाइ छोइरहेको छ। अघिल्लो दिन नै तोलामा २ हजार ४ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च स्तरमा पुगेको सुन आज फेरि महँगिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुनको भाउ प्रतितोला ५ हजार २०० रुपैयाँले उकालो लाग्दै ३ लाख ९ हजार रुपैयाँमा कायम भएको छ। यसअघि हिजो छापावाल सुन प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।
सुनसँगै चाँदीको मूल्यले पनि नयाँ कीर्तिमान बनाएको छ। आज चाँदी प्रतितोला २८५ रुपैयाँले बढ्दै अघिल्लो दिनको रेकर्ड तोडेको हो। हिजो प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएर उच्चतम स्तर बनाएको चाँदी आज ६ हजार ७ सय ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
नेपाली बजारमा देखिएको यो उछाल अन्तर्राष्ट्रिय मूल्यवृद्धिको प्रभावसँग जोडिएको छ। विश्व बजारमा सुनको मूल्य पहिलो पटक इतिहासमै प्रति औंस ५,००० अमेरिकी डलर नाघेको छ। सन् २०२५ मा ६० प्रतिशतभन्दा बढीले बढेको सुनको मूल्य २०२६ मा पनि निरन्तर उकालो लाग्दै नयाँ-नयाँ रेकर्ड बनाइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा चाँदीको भाउ पनि पहिलो पटक प्रति औंस १०० डलर पार गरेको छ। अघिल्लो वर्ष झन्डै १५० प्रतिशतले वृद्धि भएको चाँदीको मूल्य यस वर्ष पनि लगातार बढ्ने क्रममा रहेको देखिन्छ।




