काठमाडाैं । नेपाली बजारमा सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड कायम गर्ने क्रम जारी राखेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको भाउमा अकल्पनीय वृद्धि भएको छ। आज एकैदिन सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो।
बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ। यो नेपाली सुन बजारको इतिहासमा हालसम्मकै सर्वाधिक महँगो मूल्य हो। यसअघि बुधबार पनि सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले बढ्दै ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यस साताको सुरुवातदेखि नै सुनको भाउमा क्रमिक वृद्धि देखिएको थियो। गत मंगलबार प्रतितोला ३ सय रुपैयाँले बढेर सुनको मूल्य ३ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको थियो। महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ९० हजार ८ सय ९५ रुपैयाँ कायम गरिएको छ।
सुनसँगै चाँदीको भाउमा पनि निरन्तर चमक देखिएको छ। आज बिहीबार चाँदीको मूल्य तोलामा २ सय ५ रुपैयाँले बढेर ७ हजार ५ सय ५ रुपैयाँ कायम भएको छ। यसअघि मंगलबारको तुलनामा बुधबार पनि चाँदीको भाउ प्रतितोला ४ सय ३० रुपैयाँले बढेर ७ हजार ३ सय रुपैयाँ पुगेको थियो।
सुनचाँदीकाे भाउ बढेर ऐतिहासिक उचाईमा पुगेपछि बजारमा सुन किन्ने र बेच्ने ग्राहकको चहलपहल शून्यप्रायः बनेको छ। मूल्यमा देखिएको यो अप्रत्याशित उछालका कारण काराेबार अन्याैल बनेकाे हाे । भाउ अत्यधिक बढेपछि बजारमा नयाँ गहना बनाउने ग्राहकहरू आउँदैनन् भने उपभाेक्ताहरूसँगकाे सुन बिक्री भइरहेकाे छैन, जसले सुन पसलहरू सुनसान देखिन थालेका छन्।





