काठमाडौं । नेपाली बजारमा बुधबार ह्वात्तै बढेको सुन र चाँदीको मूल्यमा बिहीबार ठूलो गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९५ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ। यसअघि बुधबार सुनको मूल्य एकैदिन तोलामा १४ हजार ४०० रुपैयाँको कीर्तिमानी वृद्धि हुँदै प्रति तोला ३ लाख ४ हजार ७०० रुपैयाँ पुगेको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि आज ठूलो गिरावट देखिएको छ। महासंघका अनुसार चाँदीको मूल्य आज तोलामा ६२० रुपैयाँले घटेर प्रति तोला ४ हजार ९८० रुपैयाँमा आइपुगेको छ। बुधबार चाँदी तोलामा २६५ रुपैयाँले बढ्दा प्रति तोला ५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य ओरालो लागेको छ। बुधबार प्रति औंस ५ हजार ८१.५१ डलर पुगेको सुन आज घटेर ४ हजार ८ सय ६६.६५ डलरमा सीमित भएको छ। त्यस्तै, चाँदी पनि प्रति औंस ७६.४ डलरमा झरेको छ, जुन बुधबार ८८.२ डलर पुगेको थियो।





