काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार धितोपत्र बजारमा सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज २.४१ अंकले वृद्धि भई २६१६.९७ विन्दुमा पुगेर अडिएको छ ।
नेप्से परिसूचकमा झिनो सुधार आए पनि अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने केही गिरावट आएको छ ।
यस दिन ३२९ वटा कम्पनीका १ करोड २६ लाख २१ हजार १८८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन अर्थात् आइतबार ३२४ वटा कम्पनीका १ करोड ५९ लाख कित्ता सेयर ६ अर्ब ६९ करोड ९७ लाख रुपैयाँमा किनबेच भएको थियो, जसको तुलनामा आजको कारोबार रकम करिब साढे १ अर्बले कम हो ।
समूहगत आधारमा आज बजारमा मिश्रित प्रभाव देखिएको छ । सोमबार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लगानी, जीवन बीमा र अन्य समूहको सेयर मूल्य उकालो लागेको छ भने बाँकी सबै समूहका उपसूचकहरू ओरालो लागेका छन् । समग्र बजारमा आज ११३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४० वटा कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् भने ९ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन देखिएन ।
यसदिनको कारोबारमा केही कम्पनीको सेयर मूल्यमा भने उछाल आएको छ । जसमा सालपा विकास बैंकको सेयर मूल्य ९.९९ प्रतिशत र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य ९.२८ प्रतिशतले वृद्धि भएको छ ।





