काठमाडौँ । नेपाल प्रहरीले अपराध अनुसन्धान र शान्ति सुरक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यले नक्सालस्थित प्रधान कार्यालयमा उच्च प्रविधियुक्त ‘आर्टिफिसियल इन्टेलिजेन्स एण्ड एडभान्स्ड एनालिटिक्स सेल’ सञ्चालनमा ल्याएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार एक विशेष कार्यक्रमका बिच यस नयाँ सेलको उद्घाटन गर्नुभयो।
बढ्दो साइबर अपराध, वित्तीय ठगी र सामाजिक सञ्जाल मार्फत फैलिने अस्थिरतालाई नियन्त्रण गर्न यो सेल स्थापना गरिएको हो। यसले जेनेरेटिभ एआई, मेसिन लर्निङ र अटोमेसन जस्ता अत्याधुनिक प्रविधिको प्रयोग गरी सूचनाको विश्लेषण गर्ने र अपराध हुनुपूर्व नै सतर्क गराउने लक्ष्य राखेको छ।
यो सेल पूर्ण रूपमा सञ्चालनमा नआउँदै प्रहरीले यसको सहयोगमा महत्त्वपूर्ण सफलता प्राप्त गरिसकेको छ। सामाजिक सञ्जालमा भ्रामक र मिथ्या सूचना फैलाएको आरोपमा प्रहरीले बाँके, कञ्चनपुर, सुनसरी, सल्यान र दाङबाट संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर कानुनी कारबाही सुरु गरेको छ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेले प्रविधिको दुरुपयोग गरी समाजमा भ्रम फैलाउने जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने चेतावनी दिँदै नागरिकहरूलाई सचेत रहन आग्रह गर्नुभएको छ। सेलको उद्घाटन कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायतको उपस्थिति रहेको थियो।





