काठमाडाैं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च गिरावट आउने क्रमले शुक्रबार पनि निरन्तरता पाएको छ। केही समययता लगातार बढिरहेको सुनको भाउमा पछिल्ला दुई कारोबार दिनमा ठूलो गिरावट देखिएको हो। गत बुधबार एकैदिन प्रतितोला ११ हजार रुपैयाँले ओरालो लागेको सुनको मूल्य आज शुक्रबार पुनः ४ हजार २०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ दरभाउ अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ कायम भएको छ। यसअघि फागुन २० गते सुनको कारोबार प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँमा भएको थियो।
सुनसँगै चाँदीको भाउमा पनि शुक्रबार गिरावट आएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा ९५ रुपैयाँले घटेको हो। यससँगै बजारमा चाँदी प्रतितोला ५ हजार ४४५ रुपैयाँमा किनबेच भइरहेको छ। गत फागुन २० गते चाँदीको मूल्य प्रतितोला ५ हजार ५४० रुपैयाँ रहेको थियो।





