काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले ट्राफिक नियम उल्लङ्घन गर्दा एकैपटक ५० हजार रुपैयाँ जरिवाना लाग्ने भन्ने हल्ला पूर्णतः भ्रामक रहेको स्पष्ट पारेका छन्। मङ्गलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले जरिवानासम्बन्धी नयाँ व्यवस्थाको यथार्थ जानकारी गराएका हुन्।
मन्त्री लम्सालका अनुसार सामान्य अवस्थामा पहिलोपटक नियम उल्लङ्घन गर्दा ५०० रुपैयाँ मात्र जरिवाना लाग्ने कानुनी व्यवस्था छ। तर, कुनै चालकले पटक-पटक एउटै गल्ती दोहोर्याइरहेको खण्डमा मात्र अधिकतम ५० हजार रुपैयाँसम्म जरिवाना पुग्न सक्ने प्रावधानलाई बङ्ग्याएर एकैपटक ठुलो रकम असुल्न लागिएको भनी गलत सन्देश फैल्याइएको उनले बताए। यसैबिच, जरिवाना तिर्न नसकेर गणेश नेपालीले आत्मदाह गरेको भन्ने हल्लाको समेत खण्डन गर्दै मन्त्री लम्सालले उनलाई त्यस्तो कुनै जरिवाना नतोकिएको र सामाजिक तथा आर्थिक कारणले उक्त अप्रिय घटना घटेको स्पष्ट पारे।
यसका साथै, सडक सुरक्षाको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले विगत ५ वर्षमा देशभर १ लाख २५ हजार ५६४ सडक दुर्घटना हुँदा १२ हजार ४५२ जनाको ज्यान गएको तथ्याङ्क प्रस्तुत गरे। सडक स्तरोन्नतिको काम अघि बढिरहेको जानकारी दिँदै मन्त्री लम्सालले वर्तमान सरकारले आफ्नो १०० दिने कार्यकालमै सार्वजनिक खरिद ऐन संशोधन गरी ठेक्कापट्टामा हुने ‘न्यूनतम कबोल’ (लो बिडिङ) को समस्या समाधान गर्न ‘औसत कबोल’ (एभरेज बिडिङ) को नयाँ व्यवस्था लागु गरेको जानकारीसमेत दिएका छन्।




