आज तमु ल्होसार पर्व मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं । गुरुङ (तमु) समुदायको नयाँ वर्षका रूपमा मनाइने महान् पर्व तमु ल्होसार आज देशभर उल्लासपूर्ण वातावरणमा मनाइँदैछ। पुरानो वर्षलाई विदाइ गर्दै नयाँ वर्षको स्वागत गर्ने यस पर्वले गुरुङ समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई जीवन्त बनाएको छ।

तमु ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। यही कारण राजधानीसहित विभिन्न सहर तथा गाउँमा विशेष चहलपहल देखिएको छ। गुरुङ समुदायले परम्परागत रीति–रिवाज, नाचगान र भेषभूषासहित पर्वलाई भव्य रूपमा मनाइरहेका छन्।

तमु ल्होसारमा ‘तमु’ ले गुरुङ समुदायलाई जनाउँछ भने ‘ल्होसार’ को अर्थ नयाँ वर्ष हो। विक्रम संवत् पात्रोअनुसार प्रत्येक वर्ष पुस १५ गते मनाइने यो पर्व गुरुङ समुदायको भित्ते पात्रोअनुसार नयाँ साल सुरु भएको संकेत मानिन्छ। प्राचीन तमु प्यो शास्त्र अनुसार यही दिन तमुहरूका प्रथम महापुरुषको उत्पत्ति भएको विश्वास पनि रहँदै आएको छ।

पुस १५ को रात वर्षकै सबैभन्दा लामो हुने र त्यसपछि दिन क्रमशः लम्बिँदै जाने भएकाले तमु ल्होसारलाई अन्धकारमाथि उज्यालोको विजयको प्रतीकका रूपमा पनि बुझिन्छ। प्रकृति, सूर्य र समयचक्रसँग जोडिएको यस पर्वले जीवनमा नयाँ आशा र ऊर्जा भर्ने सन्देश दिने मान्यता छ।

इतिहास र भूगोलसँग पनि तमु ल्होसारको गहिरो सम्बन्ध रहेको बताइन्छ। लमजुङ, गोरखा, कास्की, मनाङ, स्याङ्जा लगायतका पहाडी जिल्लामा गुरुङ समुदायको बसोबास बढी छ। ती क्षेत्रहरूमा सूर्यको ताप चाँडै महसुस हुने भएकाले पुस महिनामै ल्होसार मनाउने परम्परा विकसित भएको विश्वास गरिन्छ।

ल्होसारको अवसरमा राजधानीको टुँडिखेल क्षेत्रमा विशेष रौनक देखिएको छ। आइतबारदेखि सुरु भएको ल्होसार महोत्सवअन्तर्गत आज विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी र परम्परागत नाचगान प्रस्तुत गरिँदैछ।

कसरी मनाइन्छ तमु ल्होसार ?

तमु ल्होसारको उत्सव अघिल्लो साँझदेखि नै सुरु हुन्छ। साँझ पूजाआजा, भोजभतेर र नाचगानपछि मध्यरातमा ‘नयाँ वर्ष आयो’ भन्दै उल्लासका साथ नयाँ वर्षको स्वागत गरिन्छ।

ल्होसारको दिन बिहानैदेखि ढोग–भेट, आशीर्वाद आदानप्रदान गरिन्छ। नाता–कुटुम्ब र आफन्तलाई बोलाएर ‘स्योकै’ भोज खुवाइन्छ। यस दिन गुरुङ समुदायका महिला–पुरुष परम्परागत भेषभूषामा सजिन्छन्। महिलाहरू शिरबन्दी, पिरुमाला, मखमली चोली, घलेक, निलो पटुकी, छिट्को गुन्यु र बुट्टेकर्मु (मजेत्रो) मा सिँगारिन्छन् भने पुरुषहरू टोपी, भोटो, आस्कोट, कछाड, पाखी र पटुकीमा आकर्षक देखिन्छन्।

उत्सवका क्रममा घाटु, सोरठी र स्थानीय भाषामा ‘चुड्का’ भनेर चिनिने मौलिक नाच प्रस्तुत गरिन्छ। परिवार, आफन्त र साथीभाइसँग सामूहिक रूपमा रमाउँदै मनाइने तमु ल्होसार गुरुङ समुदायको सामाजिक एकता र सांस्कृतिक समृद्धिको प्रतीकका रूपमा रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा