काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भद्रपुर नगर समितिले स्वास्थ्य शिविरका लागि सरकारी अस्पतालका स्वास्थ्यकर्मी माग गरेको छ।
रास्वपाले भद्रपुरस्थित मेची प्रादेशिक अस्पताललाई पत्र लेख्दै एक दिने निःशुल्क वृहत् स्वास्थ्य शिविरका लागि आवश्यक कन्सल्टेन्ट डाक्टर, नर्स र ल्याब टेक्निसियन पठाइदिन अनुरोध गरेको हो। अस्पतालका गुनासो सुन्ने अधिकारी सुजता पौडेलले रास्वपाको माग बमोजिम एक जना बाल रोग विशेषज्ञ, एक जना आँखा रोग विशेषज्ञ, दुई जना मेडिकल अधिकृत र एक जना ल्याब कर्मचारी पठाउन लागिएको जानकारी दिइन्।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारी बुधबार भद्रपुर नगरपालिका वडा नं. ३ स्थित मेचिपारी भावारीमा शिविर आयोजना हुँदैछ। रास्वपाले लेखेको पत्रमा सर्वसाधारण नागरिकहरूलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उक्त स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको उल्लेख छ।





