भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि १ अर्बको छात्रवृत्ति योजना कार्यान्वयन गर्न कार्यविधि बन्दै

काठमाडौँ । भोटेकोशी बाढीबाट अतिप्रभावित क्षेत्रका बालबालिकाको निरन्तर शिक्षा सुनिश्चित गर्न सरकारले घोषणा गरेको १ अर्ब रुपैयाँ बराबरको विशेष छात्रवृत्ति योजना कार्यान्वयनका लागि कार्यविधि निर्माण प्रक्रिया अघि बढाएको छ। बाढीले अभिभावक गुमाएका, विस्थापित भएका तथा विद्यालय क्षतिग्रस्त भएर पढाइ प्रभावित भएका बालबालिकालाई लक्षित गरी शिक्षा तथा खेलकुद मन्त्रालयले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ को कार्यविधि बनाउन लागेको हो।

शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार यो योजना विशेष गरी अतिप्रभावित तीन जिल्लाहरू रसुवा, नुवाकोट र धादिङमा केन्द्रित रहनेछ। प्रारम्भिक तथ्याङ्क अनुसार बाढीका कारण ती जिल्लाका १९ वटा विद्यालयहरू पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने ९ हजार ७ सयभन्दा बढी विद्यार्थीको पठनपाठन प्रत्यक्ष रूपमा प्रभावित भएको छ। कार्यविधि बनेपछि आवश्यकताको सही आकलन (नीड एसेसमेन्ट) का आधारमा स्थानीय तहमार्फत ससर्त अनुदानका रूपमा बजेट परिचालन गरिनेछ।

मन्त्रालयका सहप्रवक्ता बीरबहादुर धामीका अनुसार यो रकम विद्यार्थीलाई सिधा नगद छात्रवृत्ति वितरणमा मात्र सीमित नभई उनीहरूको शैक्षिक सामग्री, पोशाक, आवासीय सुविधा तथा क्षतिग्रस्त शैक्षिक संरचनाको पुनःस्थापनामा समेत उपयोग गरिनेछ। योजना कार्यान्वयनका लागि मन्त्रालयअन्तर्गतका शीर्षकहरूबाट रकमान्तर तथा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट स्रोत व्यवस्थापन गरी छिट्टै कार्यविधि मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा