काठमाडौँ । मुलुकभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (बुधबार) देशभरको मौसम साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका हिमाली, पहाडी तथा तराई भू-भागका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भेगका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ। यस्तै बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका धेरै स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुनेछ। तराईतर्फ सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी तराई क्षेत्रका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान गरिएको छ।
विशेष गरी मधेश प्रदेश, कोशी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली, पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षा, मेघगर्जन तथा चट्याङ्गबाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।





