मौसम अपडेट: आज कोशी, बागमती र गण्डकीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । मुलुकभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (शनिबार) देशभरको मौसम साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अधिकांश भू-भागमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने तथा पाँचवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा वा हिमपात हुनेछ भने पहाडी भेगका धेरै स्थान र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। विशेष गरी कोशी र बागमती प्रदेशको हिमाली तथा पहाडी भू-भागका साथै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ।

यसैगरी आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भेगका थोरै स्थानमा वर्षा वा हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेशलगायत कोशी, बागमती र गण्डकीका तराईका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थानमा वर्षा हुनेछ भने कोशी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा