आन्दोलन होइन तालिम लिन नयाँ पुस्तालाई अध्यक्ष ओलीको सुझाव

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण स्वाभाविक प्रक्रिया भए पनि त्यो निश्चित विधि र पद्धतिबाट मात्र सम्भव हुने बताएका छन् । आइतबार पार्टीको मिसन जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नयाँ पुस्ताले सीधै नेतृत्व दाबी गर्नुको साटो योग्य र दक्ष बन्दै क्रमशः जिम्मेवारी लिनुपर्ने सुझाव दिए ।

युवा पुस्ताबाट पुरानो पुस्तालाई तत्काल नेतृत्व छाड्न दबाब आइरहेका बेला ओलीले प्राध्यापक एकैचोटि नभइने भन्दै लेक्चररबाट सुरु गर्नुपर्ने उदाहरण दिए । पुस्तान्तरणको नाममा बाबु-छोरा र हजुरबा-नातिबीच द्वन्द्व सिर्जना गरेर समाज भाँड्न खोजिएको आरोप लगाउँदै उनले विगतमा जात, धर्म र भूगोलका नाममा विभाजन खोजिएको र अहिले पुस्ताका नाममा नयाँ विवाद ल्याउन खोजिएको बताए ।

आफ्नो राजनीतिक इतिहास सम्झँदै ओलीले पुष्पलालले २४ वर्षको उमेरमा पार्टी खोलेको, सीपी मैनाली २० वर्षमा र आफू १९ वर्षमै पार्टी प्रमुख भएको प्रसङ्ग कोट्याए । त्यो बेला आन्दोलनको समय भएकाले त्यस्तो सम्भव भएको तर अहिले आन्दोलन नरहेकाले नयाँ पुस्ताले तालिम गर्ने र सिक्ने बेला भएको उनको भनाइ थियो । समाज सबै उमेर समूहको संयोजनबाट चल्ने भएकाले युवा-युवा भन्ने हल्लाले मात्र नहुने उनले स्पष्ट पारे ।

शारीरिक र मानसिक रूपमा कमजोर भएपछि नेतृत्वले कसैले नभने पनि आफैं जिम्मेवारी छाड्नुपर्ने बताउँदै ओलीले पुस्तान्तरणजस्ता झमेलामा नअल्झिन कार्यकर्तालाई निर्देशन दिए । एउटा निर्वाचन हार्दैमा पार्टी कमजोर नहुने दाबी गर्दै उनले उच्च मनोबलका साथ जागरण अभियानमा होमिन नेता-कार्यकर्तालाई आग्रह गरे ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा