‘ड्रिम्स’ बाट जबरजस्त रुपमा नेपाली फिल्ममा प्रवेश गरेकी साम्राज्ञी आरएल शाहलाई केही समय अघिसम्म हिटको ग्यारेन्टी दिने अभिनेत्री भन्ने गरिन्थ्यो । तर, दोस्रो फिल्म ‘ए मेरो हजुर २’ पछि उनले हिटको सुख प्राप्त गर्न सकेकी छैनन् । यो फिल्मपछि उनले जति पनि फिल्म गरिन्, कुनैले बक्सअफिसमा नाफाको व्यापार गर्न सकेनन् । न त उनको अभिनयकै प्रशंसा भयो ।
उनको पछिल्लो रिलिज फिल्म ‘रातो टीका निधारमा’ । फिल्ममा उनी गाउँले भूमिकामा थिइन् । पहिलो पटक भिन्न भूमिकामा देखिएका कारण दर्शकले रुचाउने उनको विश्वा थियो।
उनी विभिन्न कारणले बाक्लै रुपमा विवादको केन्द्रमा रहने गरेकी छन् । इन्डोनेसियाको बालीमा प्रेमीसँग खिचाएको अन्तरंग तस्विर बाहिरिएपछि उनले ठूलो विवादको सामना गर्नुपर्यो । योभन्दा अगाडि स्तनको तल्लो भागमा खोपेको ट्याटुको फोटोको कारण पनि उनी विवादमा परेकी थिइन् ।
यूकेको एक यूट्युब च्यानललाई अन्तर्वार्ता दिने क्रममा उनले आफ्नो स्वार्थका लागि मिडियाले कलाकारको बारेमा नसोच्ने तर्क राखेकी छन् । मिडियामा आउने नकारात्मक समाचारले आफ्नो जीवनमा पनि ठूलो प्रभाव पारेको उनी बताउँछिन् ।
साम्राज्ञी सार्वजनिक कार्यक्रममा जाँदा प्राय आमासँगै पुगेकी हुन्छिन् । उनीहरु मिलेको देख्दा नचिन्नेहरु दिदी-बहिनी भन्दै अँडकल काट्ने गर्दछन् । आमालाई प्राय साथमै लिएर हिँड्नुको कारणबारे पत्रकारले सोधेको प्रश्नमा उनले आक्रोशित मुद्रामा भनिन्, ‘आफ्नो छोरीले आफ्नो आमालाई लिएर हिँड्दा अरुलाई किन गर्मी ? आर्टिस्ट भएपछि जे गर्दा पनि समस्या हुने रहेछ ।’
नेपालमा पछिल्लो समय राम्रो फिल्म बन्न थालेको उनको बुझाई छ । तर, फिल्म नै नहेरी नेपाली फिल्म राम्रो नै बन्दैन भन्ने सोच हटाउन आवश्यक रहेको उनी बताउँछिन् । उनले प्रदर्शनरत फिल्म ‘आमा’ को ट्रेलर हेरेपछि गहभरी भएको बताउँदै आफू नेपाल ओर्लिए लगत्तै फिल्म हेर्न हल जाने बताइन् । उनी चाँडै अभिनेता प्रदीप खड्कासँग हेमराज विसीको फिल्ममा काम गर्दैछिन् ।