सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले मृतक बालिकाको कोरोना पोजेटिभ आएको पुष्टि गरे।योसँगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ८ पुगेको छ। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्को पृष्टी गरेको छैन । आइतबार हुने नियमित पत्रकार सम्मेलनमा जानकारी दिने बताइएको छ ।बालिकाको आइतबार बिहान बाजुराको जिल्ला अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।
उनको १६ गते नै स्वाब परीक्षणको लागि धनगढी पठाइएको थियो। मृतक बालिकाको बाबुको भने कोरोना रिपोर्ट नेगेटिभ आएको थियो। उनलाई ज्वरो, झाडापखाला, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएको अस्पतालका प्रमुख रूपचन्द्र विश्वकर्माले जानकारी दिएका थिए।त्यस्तै आइतबार नै डडेल्धुरामा क्वारेन्टाइनमा बसेका एक बालकको ज्यान गएको छ ।
नवदुर्गा गाउँपालिका–३ का साढे ६ वर्षका बालकको आइतबार राति १२ बजे निधन भएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बालकको ज्यान गएको उनले जानकारी दिए । आमा–बाबुसँगै उनी भारतको मुम्बइबाट आइतबार राति मात्रै डडेल्धुरा पुगेको पाइएको प्रहरीले जनाएको छ ।
राति पुगेकाले बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो’ डीएसपी न्यौपानेले भने, ‘हामीलाई बालक गम्भिर छन् भनेर आयो । यताबाट गाडी पठाएर अस्पताल पुर्याएका थियौं ।’बालकको अस्पताल पुर्याउनु भन्दा अघि नै निधन भएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले बताए । उनका अनुसार ती बालकलाई बिहान ३ बजे अस्पताल पुर्याइएको थियो ।