स्वास्थ्य मन्त्रालयको कडा कदम: बिदा स्वीकृत नगराई बेपत्ता २३ स्वास्थ्यकर्मी कारबाहीको निसानामा, १५ दिने अल्टिमेटम

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विना जानकारी लामो समयदेखि कार्यक्षेत्रमा अनुपस्थित रहेका २३ जना स्वास्थ्यकर्मीलाई कारबाहीको प्रक्रिया अघि बढाएको छ। स्वीकृत बिदा नलिई लगातार ६० दिनभन्दा बढी समयदेखि ड्युटीमा नआएका ती कर्मचारीहरूसँग मन्त्रालयले लिखित स्पष्टीकरण माग गरेको हो।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार, १५ दिनभित्र चित्तबुझ्दो कारणसहितको जवाफ पेस नगरेमा उनीहरूलाई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को प्रावधानबमोजिम भविष्यमा सरकारी स्वास्थ्य सेवाका निमित्त अयोग्य ठहरिने गरी बर्खास्त गरिने चेतावनी दिइएको छ।

यसरी कारबाहीको सूचीमा पर्नेहरूमा वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु), कान्ति बाल अस्पताल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र (भक्तपुर) र आयुर्वेद चिकित्सालय (नरदेवी) का कर्मचारीहरू रहेका छन्। अनुपस्थित रहनेहरूमा नवौँ तहका कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. अमित रौनियार र कन्सल्टेन्ट पेडियाट्रिक सर्जन डा. मृदुल प्रसाद जोशीसहित विभिन्न तहका मेडिकल अधिकृत, नर्सिङ अधिकृत, मेडिकल ल्याब टेक्नोलोजिष्ट र स्टाफ नर्सलगायतका स्वास्थ्यकर्मीहरू रहेको मन्त्रालयले जनाएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा