काठमाडौँ । काठमाडौँ उपत्यकाका स्थानीय तहहरूले आफ्नो क्षेत्रको फोहर आफैँ व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउँदै बञ्चरेडाँडामाथिको निर्भरता क्रमशः घटाउने तयारी थालेका छन्। उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी आयोजित अन्तरक्रिया कार्यक्रममा विभिन्न पालिकाका प्रमुखहरूले संघीय सरकारसँग सहजीकरणको माग गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन्।
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले फोहर व्यवस्थापनमा विगतमा राजनीति र दोषारोपण गर्ने प्रवृत्ति देखिएको भन्दै अब स्रोतबाटै फोहर वर्गीकरण र व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन्। उनले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर काम अघि बढाउनुपर्ने बताइन्। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कानुनी अड्चनहरू फुकाउन सके स्थानीय तहहरूले आफ्नै पहलमा फोहर व्यवस्थापन गर्न सक्ने धारणा राखे।
छलफलमा बञ्चरेडाँडा जाने कुल फोहरमध्ये काठमाडौँ महानगरको ४८.८ प्रतिशत र ललितपुर महानगरको १० प्रतिशत हिस्सा रहेको जानकारी दिइयो। फोहर व्यवस्थापनलाई विकेन्द्रित मोडलमा लैजाने, सुक्खा फोहर पुनःप्रयोग तथा पुनर्चक्रण गर्ने र कुहिने फोहरबाट मल तथा ऊर्जा उत्पादन गरी चार वर्षभित्र बञ्चरेडाँडामा फोहर लैजान नपर्ने गरी कार्ययोजना बनाउने प्रस्ताव अघि सारिएको छ।




