कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–८ मधुवनका ५४ वर्षीय नारायण बेल्बासे बाणगंगा नदीको पुलबाट बेपत्ता भएका छन्। शुक्रबार दिउँसो पुलको उत्तरी किनारतर्फ गएका उनी त्यसपछि सम्पर्कविहीन बनेको स्थानीय प्रहरी प्रशासनले पुष्टि गरेको छ।
घटनास्थल नजिकै बाणगंगा पुल आसपासको नदी किनारमा बेपत्ता बेल्बासेले लगाएको लुगा फेला परेपछि स्थानीय र आफन्तले प्रहरीलाई खबर गरेका थिए। फेला परेको कपडा र जुत्ताको आधारमा बेपत्ता व्यक्ति नारायण नै भएको परिवारजनले सनाखत गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्रकुमार सिंहले जानकारी दिनुभयो।
नदीमा खसेको वा अन्यत्र कतै गएको भन्ने विषयमा यकिन हुन नसकेपछि नेपाल प्रहरी र स्थानीयको सक्रियतामा बाणगंगा नदी तटीय क्षेत्र तथा आसपासका स्थानहरूमा खोजी कार्य तीव्र बनाइएको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाउँदै नदी आसपासका बासिन्दा तथा तटीय क्षेत्रका नागरिकलाई कुनै सूचना भेटिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेको छ।





