काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का प्रतिनिधिमण्डलबीच राजधानीमा समसामयिक विषयमा महत्त्वपूर्ण भेटवार्ता भएको छ। सोमबार एनआरएनएका महासचिव डा. चिरञ्जीवी खड्काको नेतृत्वमा पुगेको प्रतिनिधिमण्डलले संयोजक प्रचण्डसँग भेट गरी विपद् व्यवस्थापन र गैरआवासीय नेपालीका अधिकारका विषयमा छलफल गरेको हो।
भेटका क्रममा प्रतिनिधिमण्डलले हालैको अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी-पहिरो प्रभावित क्षेत्रहरूमा सङ्घको तर्फबाट सञ्चालित उद्धार तथा राहत कार्यहरूबारे जानकारी गराएको थियो। साथै आगामी दिनमा पुनर्निर्माण र थप राहतका लागि आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। संयोजक प्रचण्डले विपद्को यस कठिन घडीमा एनआरएनएले पुर्याउँदै आएको मानवीय सहायता, सक्रियता र मातृभूमिप्रतिको उत्तरदायित्वको उच्च प्रशंसा गर्नुभयो।
छलफलका क्रममा प्रतिनिधिमण्डलले विदेशमा बसोबास गरिरहेका नेपालीहरूका लागि वंशजको नागरिकताको निरन्तरताको मागलाई प्रमुखताका साथ उठाएको थियो। यस विषयमा सकारात्मक प्रतिक्रिया दिँदै संयोजक प्रचण्डले गैरआवासीय नेपालीहरूको वंशजको नागरिकताको निरन्तरतामा आफू सुरुवाती समयदेखि नै दृढ रहेको स्पष्ट पार्नुभयो। उहाँले राजनीतिकबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरू सुनिश्चित गर्दै नेपाली मूलका नागरिकहरूको पहिचान स्थापित गर्न नीतिगत पहल गर्ने आश्वासन दिनुभयो। साथै, विदेशमा आर्जित सीप, पुँजी र अत्याधुनिक प्रविधिलाई स्वदेश भित्र्याउन नागरिकताको सुनिश्चितताले महत्त्वपूर्ण योगदान पुर्याउने भन्दै यसलाई अन्य राजनीतिक दलहरूसँग संवाद गरी निष्कर्षमा पुर्याइने बताउनुभयो।





