काठमाडौँ । सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त वैदेशिक सहायतासँगै राष्ट्रिय वन क्षेत्रको उपयोग, तीन वटा महत्त्वपूर्ण विधेयक संघीय संसद्मा पेस गर्ने र दुई सहसचिवलाई सचिवमा बढुवा गर्नेलगायतका निर्णयहरू गरेको छ।
बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो। त्यसैगरी, पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षा अन्तर्गत कमला-ढल्केबर-पथलैया सडक खण्ड, गर्जाङ खोला साना जलविद्युत् आयोजना, बलेफी खोला जलविद्युत् आयोजना र सशस्त्र प्रहरी बलका विभिन्न संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा उपयोग गर्न स्वीकृति दिइएको छ। यसैबीच, संघीय निजामती सेवा सम्बन्धी विधेयक, पशु वधशाला र मासु जाँच ऐन संशोधन विधेयक, तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन संशोधन विधेयक संसद्मा पेस गर्न स्वीकृति प्रदान गरिएको छ।
मन्त्रिपरिषद् बैठकले सहसचिवद्वय आवास श्रेष्ठ कर्णलाई गण्डकी प्रदेशको प्रमुख सचिव र डा. जगदीश्वर कर्माचार्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा बढुवा तथा पदस्थापन गरेको छ। सरकारका प्रवक्ताले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा नभई परिवारको आग्रहमा उद्धार गरी सुरक्षित स्थानमा राखिएको स्पष्ट पार्दै, घरेलु लिग सञ्चालन र २७ स्थानमा खेलकुद पूर्वाधार निर्माणको कार्य अघि बढाइएको जानकारी दिएका छन्।





