काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजनीति भेटघाट तिब्र पारेका छन् । बालेनले आज (बिहिबार) मात्रै थुप्रै राजनीतिक व्यक्तित्वहरुसँग भेटघाट गरेका छन् ।
बिहिबार मात्रै बालेनले जेनजी अभियन्ता, ऊर्जामन्त्री कुलमान घिसिङ र रास्वपा सभापति रवि लामिछाने, रास्वपा नेता शिशिर खनाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् ।
बिहिबार ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरमा रवी लामिछानेसँग लामो वार्ता गरेका बालेन आज साँझ फेरि रवीलाई भेट्ने भएका छन् । ऊर्जामन्त्री कुलमान घिसिङ सहित रवी र बालेन आजै साँझ पुनः छलफल गर्ने तयारी भइरहेको छ ।
यसअघि बुधबार बालेनले जनमत पार्टीका अध्यक्ष सीके राउत, नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) मात्र होइन डा भगवान कोइरालासँग पनि भेट गरेका थिए ।
बालेनसँग भेटेको विषयमा जनमत पार्टीका अध्यक्ष सीके राउत र नाउपा नेपालका संरक्षक रेशम चौधरीले स्वीकार गरेका छन् ।
यस्तै नेपाली कांग्रेसका नेता सुनील शर्मा, निवर्तमान स्वतन्त्र सांसद अमरेशकुमार सिंह, रक्षा बम, पुरूषोत्तम यादव, युजन राजभण्डारी, रोहनराज दंगाल, जेम्स कार्की, सुदन गुरूङ लगायतका जेनजी अगुवा, हाम्रो नेपाल पार्टीका अध्यक्ष खगेन्द्र सुनार लगायतका संग पनि बालेनले भेट गरिसकेका छन्।
पछिल्लो राजनीतिक भेटघाटमा नयाँ तथा वैकल्पिक शक्तिहरू मिलेर जानुपर्ने बिषयमा चर्चा तथा बहस भइरहेको छ ।
