काठमाडौं । आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएको छ। संस्थापन पक्षको असहमतिबीच काठमाडौंको भृकुटीमण्डपमा आइतबार र सोमबार चल्ने गरी विशेष महाधिवेशन बोलाइएको हो ।
आइतबार दिउँसो १ बजे विशेष महाधिवेशन उद्घाटन हुने भए पनि अहिले धमाधम प्रतिनिधिहरुको नाम दर्ताको काम भइरहेको छ । महाधिवेशनको उद्घाटनअघि नै प्रतिनिधिहरु महाधिवेशन स्थल पुगेर नाम दर्ता गरेर कार्ड लिइरहेका छन् । प्रतिनिधिका साथै अहिले कांग्रेस समर्थकहरु पनि कार्यक्रम स्थल पुगेका छन् ।
उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च निर्माण गरिएको छ । मञ्चको अगाडि खुला चौरमा भने ६ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन गरिएको छ भने मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ ।
यस्तै कांग्रेस नेताहरू बिपी कोइराला, सुवर्णशम्शेर जबरा, मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसा कोइराला र सुशील कोइरालाका प्रतिमा राखिएको छ ।
विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेतालाई भने आमन्त्रण गरिएको छैन ।
आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौंका विभिन्न स्थानमा ३ हजार ६०० प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको छ । साथै थप २र२ सय प्रतिनिधिका लागि तत्काल व्यवस्थापन हुनेगरी प्रबन्ध मिलाइएको बताइएको छ ।
विशेष महाधिवेशनको उद्घाटनपछि बन्दसत्र भृकुटीमण्डपको सभाहलमा हुनेछ ।



