काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दा संशोधन गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइ बिहीबार स्थगित भएको छ। महान्यायाधिवक्ता कार्यालयले सुनुवाइ स्थगित गर्न दिएको निवेदनका आधारमा आजका लागि तय भएको पेसी रोकिएको हो।
सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा तीनवटा छुट्टाछुट्टै रिट दर्ता भएका थिए। यसअघि चैत १५ गते न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले यस विषयमा गम्भीर संवैधानिक र कानुनी प्रश्न उठाएको थियो। फौजदारी कार्यविधि संहिताको दफा ३६ बमोजिम थप प्रमाण भेटिएमा मात्र अभियोगपत्र संशोधन गर्न सकिने व्यवस्था भए पनि प्रतिवादीकै बयानलाई ‘थप प्रमाण’ मान्न सकिने वा नसकिने भन्ने विवादपूर्ण देखिएकाले मुद्दालाई तीन सदस्यीय पूर्ण इजलासमा पठाइएको थियो।
आज न्यायाधीशहरू नृपध्वज निरौला, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासमा यस मुद्दाको पहिलोपटक सुनुवाइको मिति तय भएको थियो। अभियोगपत्र संशोधनको निर्णय स्वेच्छाचारी र गैरकानुनी रहेको दाबी गर्दै परेको यो रिटको अर्को सुनुवाइ कहिले हुने भन्ने विषयमा अदालतले नयाँ मिति तोक्नेछ।





