काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका क्रममा सोमबार नयाँ दिल्ली आइपुगेका छन्। रास्वपा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गरेका लामिछानेलाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।
विमानस्थलमा ओर्लनासाथ लामिछानेलाई भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाइवालेले पुष्पगुच्छासहित स्वागत गरेका हुन्। पाँच दिने यस भ्रमणका क्रममा सभापति लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ताहरू गर्ने कार्यसूची रहेको छ। उनले भारत सरकारका मन्त्रीहरू र भाजपाका शीर्ष नेतृत्वसँग द्विपक्षीय हितका विविध पक्षमा छलफल गर्ने जनाइएको छ।
भ्रमण टोलीमा लामिछानेसहित रास्वपाका सह-महामन्त्री विपिन कुमार आचार्य, प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी छन्। राजनीतिक भेटघाटका अतिरिक्त उनले भारतमा रहेका नेपाली समुदायसँग अन्तर्क्रिया गर्ने र व्यक्तिगत रूपमा अयोध्याको भ्रमण समेत गर्ने कार्यक्रम तय भएको छ। लामिछाने आगामी पाँच दिनपछि नेपाल फर्कनेछन्।




